काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाले पनि नेपालमा आंशिक प्रभाव पारिरहेको छ। यसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ र केही स्थानहरूमा हल्का वर्षा र चट्याङ्गको सम्भावना रहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने संभावना छ। त्यस्तै, हिमाली भूभागमा हल्का हिमपातको पनि अनुमान गरिएको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ।
देशका पश्चिमी भूभागमा पानी परिरहेको छ र पानी पार्ने प्रणाली सुदूरपश्चिम र कर्णाली प्रदेश हुँदै पूर्वतिर सरिरहेको छ। मौसमविदहरूको अनुसार, तीन दिनसम्म हल्का वर्षा र छिटफुट पानी पर्ने सम्भावना रहेको छ।
मौसमविद प्रतिभा मानन्धरले भने, “पानी ठूलो होइन, हल्कादेखि छिटफुट खालको पर्छ, र यो अवस्था केही दिनसम्म रहन सक्छ।”
महाशाखाले जनजीवन, कृषि, स्वास्थ्य र यातायात क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

