२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

बाल मन्दिर भाडा प्रकरण : उपप्रधानमन्त्रीकी दिदीसहित १७ जनाविरुद्ध मुद्दा, ६० करोड बिगो माग

नक्सालस्थित नेपाल बाल मन्दिरको जग्गा लिज प्रकरणमा ठगी गरेको अभियोगमा १७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार ठगीको कसुरमा मुद्दा दायर गरेको हो।

नेपाल बाल संगठनको अध्यक्ष रहेका बेला रिता सिंह वैद्यको अध्यक्षतामा बाल मन्दिरको जग्गा लिजमा दिने निर्णय भएको थियो। सोही निर्णयसँग सम्बन्धित भएर सिंहसहित १७ जनाविरुद्ध ठगीको आरोपसहित मुद्दा दायर गरिएको हो। दायर मुद्दामा ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

यसअघि सीआईबीले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्दै अनुसन्धान अघि बढाएको थियो। तीमध्ये तीन जनाको मृत्यु भइसकेकाले उनीहरूविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको छ। मृत्यु भएका तीनमा बृहस्पती विद्यालय व्यवस्थापन प्रालिका तत्कालीन अध्यक्ष चिरन्जिवि तिवारी, नेपाल बाल संगठनका कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र उपमहासचिव सुमन शाक्य रहेका छन्।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रारम्भमा सो प्रकरणमा मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो। तर पछि प्रहरीको अनुसन्धान प्रतिवेदन आएपछि ठगीको कसुरअनुसार मुद्दा अगाडि बढाइएको हो। मुद्दा मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अन्तर्गत दायर गरिएको हो, जसअनुसार दोषी ठहरेमा सात वर्षसम्म कैद सजाय हुनसक्छ।

मुद्दा दर्ता भएका १७ जना:

रिता सिंह

तुलसी नारायण श्रेष्ठ

गणेशभक्त श्रेष्ठ

कृष्ण शंकर साह

श्याम कुमार आले

सुवास कुमार पोखरेल

प्रचण्ड राज प्रधान

रामकाजी गुरुङ

योगेन्द्र बहादुर शाही

दीपक दास श्रेष्ठ

प्रविण राज जोशी

मुरारी निधि तिवारी

पुरुषोत्तम राज जोशी

श्रद्धा संघाई

अभिनव सिंघानिया (भारतीय नागरिक)

सिद्धार्थ केडिया (भारतीय नागरिक)

कीर्ति प्रसाद पाण्डेय (भारतीय नागरिक)

रिता सिंह वैद्य उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन्। थप अनुसन्धानपछि प्रतिवेदनका आधारमा अन्य कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस