काठमाडौं । भारतका स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। ३६ वर्षीय कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो सन्न्यास घोषणा गरेका हुन्।
कोहलीले १२३ टेस्ट खेलमा ३० शतक र ३१ अर्धशतकसहित ९,२३० रन बनाएका छन्। उनले ४६.८५ को औसत कायम गरेका थिए। भारतीय टेस्ट क्रिकेट टिमका कप्तान रोहित शर्माले गएको हप्ता टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेपछि कोहलीले पनि यही निर्णय लिएका हुन्।
कोहलीले २०११ मा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। उनले ६८ टेस्टमा कप्तानी गर्दा ४० खेलमा जीत, १७ खेलमा हार र ११ खेल बराबरीमा सकिएका थिए। भारत लगातार दुई पटक टेस्ट च्याम्पियनशिपको फाइनलमा पुग्दा पहिलो पटक कोहलीले टोलीको नेतृत्व गरेका थिए।
आफ्नो उत्कृष्ट समयमा कोहलीले २०१६ देखि २०१९ सम्म उच्च प्रदर्शन गरेका थिए। उनले २०१६ मा ७५.९३, २०१७ मा ७५.६४, २०१८ मा ५५.०८, र २०१९ मा ६८.०० को औसतमा रन बनाएका थिए।
यसअघि नै टी–२० क्रिकेटबाट सन्न्यास लिएका कोहली अब भारतबाट एकदिवसीय क्रिकेट मात्र खेल्नेछन्।

