काठमाडौं । नेपाल सरकारले दक्षिण कोरियामा भाषा तथा स्नातक अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) स्थगित गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गर्दै डी-२ र डी-४ भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन रोकिएको जनाएको छ।
सरकारले विद्यार्थीहरू रोजगारीलाई प्राथमिकता दिने, अध्ययनमा निरन्तरता नहुने, स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने, तथा कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयहरूमा विद्यार्थी पठाउने जस्ता समस्याहरू देखिएको उल्लेख गरेको छ।
विद्यार्थीहरूलाई कन्सल्टेन्सीहरूले अवैधानिक रूपमा काम गर्न पाइने आश्वासन दिने तर वास्तविकता फरक हुने गुनासो आएको मन्त्रालयले जनाएको छ।
यी समस्याहरूको अध्ययन गर्न कार्यदल गठन गरिएको छ। कार्यदलको सिफारिसका आधारमा थप निर्णय लिइने मन्त्रालयले स्पष्ट पारेको छ।

