२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

प्रधानमन्त्री भन्छन् : मुलुक अघि बढाउन एमालेको बहुमतको सरकार आवश्यक

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सुशासन र विकासको बाटोमा तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन्।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय शिक्षा विभागले आज एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले देशलाई बिगार्न नदिन र सुशासनलाई निरन्तरता दिन एमालेको बहुमत सरकार आवश्यक रहेको बताए।

उनले भने, ‘मुलुकका लागि एमाले नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिलो गर्यौं, अब त्यो भ्रममा नपर्नुस्। केही स्वार्थलु मानिसहरूले भ्रम फैलाएका छन्, त्यसमा नपर्नुस्। आगामी निर्वाचनमा युवाहरूले एमालेलाई बहुमत दिनुपर्नेछ। म युवाहरूलाई एकैपटक अध्यक्ष बन्न आग्रह गर्दिनँ, तर काम र अनुभवले नेतृत्व पाउन सकिन्छ। मेसी, एम्बापे पनि एकै दिन बनेका होइनन्। मेहनत र समय चाहिन्छ, यो बुझ्नुपर्छ।’

कार्यक्रममा युवा चिकित्सक, इन्जिनियरसहित करिब १०० जना नयाँ सदस्य एमालेमा प्रवेश गरेका थिए। स्वदेशमै केही गर्न चाहने युवा उद्यमीहरूलाई सम्मान पनि गरिएको थियो।

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस