२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

सरकारका प्रवक्ताले दिए राष्ट्र बैंकका गभर्नर नियुक्तिको अल्टिमेटम

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राष्ट्र बैंकको गभर्नर ढिलोमा एक हप्ताभित्र नियुक्त हुने बताएका छन्। आइतबार लमजुङको बेँसीसहरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सिफारिस समितिले प्रस्ताव गरेकै दिन सरकारले निर्णय गर्ने बताए।

गुरुङका अनुसार समितिबाट डा. विश्व पौडेलले राजीनामा दिएपछि डा. पोषराज पाण्डेलाई सदस्य नियुक्त गरिएको छ।

साथै, मन्त्री गुरुङले वर्तमान सरकार स्थिर भएकाले विपक्षीहरू अत्तालिएको दाबी गरे। उनले सत्तारूढ गठबन्धनमा कुनै असमझदारी नरहेको बताए।

यसअघि नेकपा (एमाले) लमजुङको नवौं जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को बैठकमा उनले पार्टी बलियो भए मात्र सरकार स्थायित्वमा जाने धारणा राखे। उनले आफू २०४३ सालमा जनपक्षीय उम्मेदवार बनेर चुनाव लडेको र त्यसयता लमजुङबाट निरन्तर प्रतिस्पर्धा गर्दै आएको बताए।

आइतबार उनलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जिल्ला अध्यक्ष राजकुमार विष्टले सम्मान गरेका थिए। गुरुङ हाल संघीय सांसद र सञ्चारमन्त्री हुन्।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस