२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

सर्वोच्चमा वकिलको दाबी : “सबै जड जीबी राई, लामिछानेपनि पीडित हुन्”

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी रकम अपचलन मुद्दामा सर्वोच्च अदालतमा बहस हुँदा उनका कानुनी प्रतिनिधिले घटनाको मूल जड गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई भएको दाबी गरेका छन्।

सर्वोच्चको संयुक्त इजलासमा मंगलबार लामिछानेको तर्फबाट बहस गर्दै वकिलहरूले उनलाई गैरकानुनी रुपमा पक्राउ गरिएको र थुनामा राख्नुपर्ने कुनै आधार नभएको तर्क गरे। वकिलका अनुसार लामिछानेले सहकारीबाट ऋण लिएका होइनन्, तर समाचार प्रकाशनसम्बन्धी सम्झौताअनुसार सेयर पाएका थिए। उक्त सेयरको चेक राईले दिएका थिए, जुन बाउन्स भएको बताइयो।

बहसमा अधिवक्ता सुदिज्ञ पन्तले लामिछानेको पक्राउ प्रक्रिया फौजदारी ऐनविपरीत भएको उल्लेख गर्दै उनलाई ‘प्रहरी मेरो साथी’ अभियानकै बदनियतपूर्ण व्यवहारमा फसाइएको जिकिर गरे। वरिष्ठ अधिवक्ता सुशिल पन्तले पनि कार्यकारीको बदनियत रहेको आरोप लगाए।

अर्का अधिवक्ता सुरेन्द्र थापाले सफ्टवेयरमा नाम देखिएको आधारमा मात्र दोषारोपण गर्नु गलत भएको तर्क गरे। न्यायाधीशहरूले भने लामिछानेको नाममा चेक साइन गरिएको र रकम जम्मा देखिएकाले सम्बन्ध पुष्टि हुने प्रश्न उठाएका थिए। अब बुधबारबाट सरकारी पक्ष र पीडितका तर्फबाट बहस सुरु हुने र त्यसपछि निर्णय आउने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस