काठमाडौं । काठमाडौं महानगरपालिका–८ स्थित गौशालामा आज दिउँसो एक अनियन्त्रित बसले अन्य सात सवारीसाधन ठक्कर दिँदा ठूलो दुर्घटना भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन् भने बस चालक फरार छन्।
बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायात अन्तर्गतको बस तिलगंगातर्फ जाँदै गर्दा अनियन्त्रित भई अन्य सवारीसँग ठोक्किएको हो।
दुर्घटनामा हायस, तीनवटा कार, दुईवटा मोटरसाइकल र एक स्कुटरसमेत संलग्न रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले जानकारी दिए।
घाइते हुनेमा धादिङका ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोटका २२ वर्षीय विकास कट्टेल र खोटाङका ३७ वर्षीय शैलेन्द्र राई रहेका छन्। उनीहरूलाई उद्धार गरी काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार दुर्घटना दिउँसो करिब १२ बजेतिर भएको हो। ठोक्किएका सवारीसाधनहरूमा उल्लेखनीय क्षति पुगेको छ।
हाल प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ। बस चालकको खोजी जारी रहेको बताइएको छ।

