११ जेठ, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार सभापति देउवाले सोमबार बिहान ९ बजेका लागि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका हुन् ।
बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकमा क्रियाशील सदस्यता नवीकरणका विषय र समसामायिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने एजेन्डा छ । महामन्त्री गगन थापा संयोजकत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न मातहत समितिहरूलाई हालै निर्देशन दिएको छ ।
क्रियाशील सदस्यताबारे कांग्रेसमा २१ सय उजुरी आएका छन् । ती उजुरी अनुशासन समितिमा परेका हुन् । केही जिल्लामा विवाद हुँदा क्रियाशील सदस्यता नवीकरणका काम प्रभावितसमेत हुने गरेको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार

