२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

तीनकुने प्रकरण : रवीन्द्र मिश्रसहित ६५ जनाविरुद्ध अभियोजन, ११ जना फरार

काठमाडौं । तीनकुनेमा राजावादीको पक्षमा भएको प्रदर्शनमा संलग्न रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको छ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले मिश्रसहित ६५ जनालाई प्रतिवादी कायम गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार मिश्रविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी गरिएको छ।

२०८१ साल चैत १५ गते भएको प्रदर्शनमा संलग्न व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। तीमध्ये ११ जना हालसम्म फरार छन्।

यसैबीच, सोही प्रदर्शनमा सहभागी राप्रपाका महामन्त्री धवल शमशेर जबराविरुद्ध पनि समान प्रकृतिका ४ मुद्दामा अभियोजन दर्ता गरिएको छ। जबरामाथि पनि राज्यविरुद्धको गतिविधि र संगठित अपराधमा संलग्न रहेको आरोपसहित सजायको मागदाबी गरिएको हो।

सरकारी वकिल कार्यालयका अनुसार हालै अदालतमा दर्ता गरिएको यो मुद्दामा सबै आरोपितमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस