काठमाडौं । १८औं गणतन्त्र दिवसका अवसरमा तीन शीर्ष नेताहरूले पृथक सन्देश दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको महत्व र त्यसको रक्षा तथा संस्थागत विकासका लागि आ–आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आजको दिन शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन भएको उल्लेख गर्दै जनताको स्वाभिमान स्थापित भएको दिनको रूपमा गणतन्त्र दिवसलाई स्मरण गरेका छन् । उनले भनेका छन्, “मुकुटको होइन, मुलुकको हितले स्थान पाएको दिन हो आज । सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन हो यो ।” उनले सात दशक लामो बलिदानीपछि प्राप्त गणतन्त्रको मर्म आत्मसात गर्दै मुलुकको हितमा अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षा, प्रयोग र विकासका लागि परिवर्तनकारी शक्तिबीचको एकता र सहकार्य अपरिहार्य रहेको बताएका छन् । उनले माओवादीको पहल, जनयुद्ध र जनआन्दोलनको जगमा स्थापना भएको गणतन्त्रलाई यथास्थिति र प्रतिगमनविरुद्धको संघर्षमार्फत अझ सुदृढ बनाउने कार्यमा अग्रसर हुनुपर्ने बताए । साथै, उनले सहिद, बेपत्ता तथा घाइते योद्धाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपाली कांग्रेसका सभापति देउवाले संविधान र गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्र समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण सम्भव हुने बताएका छन् । उनले लोकतन्त्रको संरक्षण र संवर्द्धनमा योगदान दिने सबैप्रति सम्मान प्रकट गर्दै जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको स्पष्ट पारेका छन् ।
२०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको औपचारिक अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको यो दिनलाई हरेक वर्ष ‘गणतन्त्र दिवस’का रूपमा देशभर मनाइँदै आएको छ ।

