काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदमा अवरोध हटाएर गृहमन्त्री रमेश लेखकलाई जवाफ दिन दिन प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन्। भिजिट भिसा प्रकरण र बिहीबार संसदमा पेस हुने बजेट लगायतका विषयमा छलफल गर्न विपक्षी दलहरूले बैठक बोलाएका थिए।
माओवादीका सांसद लेखनाथ दाहालका अनुसार, प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि उठेका प्रश्नहरूको जवाफ दिन सहज वातावरण बनाउन प्रचण्डलाई फोन गरेका हुन्।
उनले बताएअनुसार, ‘संसद्को अवरोध हटाएर गृहमन्त्रीलाई बोल्न दिन प्रधानमन्त्रीले प्रचण्डलाई फोन गर्नुभएको थियो। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएसम्म अवरोध यथावत् रहने कुरा प्रचण्डले बताएका छन्। यद्यपि सरकारले भोलि संसदमा पेस गर्ने आर्थिक वर्ष २०८२/८३ को बजेटबारे सकारात्मक सोच राख्न सकिन्छ भने प्रचण्डले बताएका छन्।’
विपक्षी दलहरूले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध कायम राख्ने निर्णय गरेका छन्।

