२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

सरकारविरुद्ध विपक्षी दलको मोर्चाबन्दी, बजेटअघि निर्णायक बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरु हुनुअघि साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको छ। संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरू र प्रमुख सचेतकहरूको बैठक बोलाइएको छ। यो जानकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले दिएका छन्।

परियारका अनुसार, संसद्को पहिलो बैठकमा प्रत्येक दलले आफ्ना धारणा राख्ने तयारीमा छन्। परिस्थिति अनुसार थप निर्णय लिन विपक्षी दलहरूको बैठक बोलाइएको छ। उनले भने, ‘हामी बजेट रोक्न चाहँदैनौं। पहिलो बैठकमा हामीले आफ्ना धारणा राख्छौं। थप विषयमा निर्णय लिन विपक्षी दलहरूको बैठक बस्नेछ र त्यसबाट निर्णय गरिनेछ।’

प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो १ः३० बजे बोलाइएको छ भने सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ।

तर भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत संलग्न भएको भन्दै विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरोध गर्दै आएका छन्।

बुधबार बसेको विपक्षी दलहरूको बैठकले सरकारलाई बजेट पेश गर्न दिन सकारात्मक निर्णय गरेको थियो। बजेट पेश गरेपछि पनि गृहमन्त्रीको राजीनामा माग राखेर संसद् अवरोध जारी राख्ने रणनीति बनाइएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस