काठमाडौं । आज गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले र राजावादी समूहले फरक–फरक प्रदर्शन गर्ने भएपछि काठमाडौं उपत्यकामा झण्डै ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
एमालेले गणतन्त्रको उत्सवस्वरूप भृकुटीमण्डपबाट सांस्कृतिक झाँकी प्रदर्शन गर्ने कार्यक्रम बनाएको छ भने पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा राजावादीहरूले गणतन्त्र खारेज गरी राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गर्न लागेका छन्। उनीहरूलाई दिउँसो २ बजेपछि प्रदर्शनको अनुमति दिइएको छ।
दुवै पक्षको कार्यक्रम एउटै दिन राजधानीमा हुने भएकाले सम्भावित झडप रोक्न व्यापक सुरक्षा योजना बनाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले संवेदनशील स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारेका छन्।
चैत १५ को हिंसात्मक प्रदर्शनको अनुभवलाई ध्यानमा राख्दै आज भिड नियन्त्रणमा विशेष सावधानी अपनाइएको छ। प्रहरी प्रमुखहरूलाई बल प्रयोग गर्दा मानव अधिकारको ख्याल गर्न निर्देशन दिइएको छ।
उपत्यकाको सवारी व्यवस्था प्रभावित हुने भएकाले ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

