२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा होइन, राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई प्राथमिकतामा राखेर अघि बढेमा एमालेले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ।

शनिबार नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देशभित्र र बाहिरका स्वार्थ समूहले मोर्चाबन्दी गर्दै एमालेलाई कमजोर बनाउन खोजे पनि पार्टी फेरि सुदृढ बनेको बताउनुभयो। उहाँले विचार र विकासको नायक पार्टीलाई सिध्याउने प्रयास असफल भएको भन्दै, ‘अब कसैले एमालेलाई भित्तामा टाँस्ने हैसियत राख्दैन’, भन्नुभयो।

प्रधानमन्त्री ओलीले बुद्धिजीवी वर्गले सङ्क्रमणकालीन अवस्थामा राष्ट्रलाई निकास दिन सक्ने महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै, परिवर्तन र जनताको पक्षमा दृढ अडान लिन आग्रह गर्नुभयो।

‘म गर्वका साथ भन्छु, म एमालेको झोले हुँ’, भन्दै ओलीले सही विचार र परिवर्तनको पक्षमा बुद्धिजीवी वर्गलाई साथ दिन आह्वान गर्नुभयो। त्यस्तै, राजतन्त्र पुनःस्थापनाको बहसलाई उहाँले अप्रसांगिक ठहर गर्दै लोकतन्त्र र संविधानको रक्षामा एमाले अडिग रहने स्पष्ट गर्नुभयो।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस