काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेबाट मतदान प्रक्रिया सुरु हुने भएको छ।
पहिलोपटक विद्युतीय मेसिनमार्फत् मतदान गरिँदैछ, तर उम्मेदवारको नाम सेट गर्ने प्राविधिक चरण ढिलो भएकोले मतदान प्रक्रिया केही ढिला सुरु भएको हो।
अध्यक्ष मण्डल सदस्य माधव ढुङ्गेलका अनुसार, निर्वाचन प्रक्रिया देरीका साथ प्रारम्भ भए पनि तयारी पूरा भइसकेको छ। अध्यक्ष पदका लागि डा. सुजन कडरिया र प्रकाश पौडेल प्रतिस्पर्धामा छन्।
दुई उपाध्यक्ष पदमा नौ उम्मेदवार भिड्दै छन्। खुला उपाध्यक्षतर्फ भरत धामी, राजकुमार ढकाल, विकास श्रेष्ठ, धर्मेन्द्र केसी र रोहित बम चुनावी दौडमा छन् भने महिला उपाध्यक्षका लागि अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईंले उम्मेदवारी दिएका छन्।
महासचिव पदमा दीपक धामी, आरके रोमस र सुनिल कँडेल प्रतिस्पर्धामा छन्। उपमहासचिवका लागि अमर शाही, कमल जोशी र प्रेमिका शाही उम्मेदवार छन्। सचिव पदका लागि भने अत्यधिक प्रतिस्पर्धा देखिएको छ-जम्मा ३६ जना उम्मेदवार मैदानमा छन्।
महाधिवेशनमा सहभागी १,५३४ प्रतिनिधिहरूले १५१ पदका लागि मतदान गर्दै छन्। कूल ५२१ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन्। अधिवेशनले १५१ सदस्यीय केन्द्रीय समिति, ९ पदाधिकारी र ३२ वर्षको उमेर सिमा अनुमोदन गरिसकेको छ।

