काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभा आज दिउँसो ३:०० बजे बस्ने कार्यक्रम तय भएको छ। तर पछिल्ला दिनमा जस्तै आजको बैठकमा पनि ‘भिजिट भिसा’ प्रकरणका कारण प्रतिपक्षी दलहरूको अवरोध कायमै रहने संकेत देखिएको छ।
जेठ १३ गतेदेखि लगातार बैठकहरू कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आइरहेका छन्। दलहरूबीच सहमति प्रयास भइरहे पनि हालसम्म कुनै निष्कर्षमा पुग्न सकिएको छैन।
यसबिच, आजको सम्भावित कार्यसूचीमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलको प्रस्ताव पेस गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ प्रस्तुत गर्ने कार्यसूचीमा रहेको छ। साथै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूबारे जानकारी गराउने कार्यक्रम पनि रहेको छ।
तर प्रमुख विपक्षी दलहरूका कारण नियमित कार्यसूची कार्यान्वयनमा अवरोध आइरहेका छन्। आजको बैठक पनि यस्तै तनाबयुक्त वातावरणबीच सञ्चालन हुने देखिएको छ।


