२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

तीनकुने घटना : प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा

३० जेठ, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा यो आदेश दिएको हो ।
थुनामा पठाइएकाहरूमा जनकमान्डर भनिएका दुर्गा प्रसाद प्रसाईं, तारा राजावादी भनिएका सरोज गौतम, अनुप राजावादी भनिएका गोकर्ण शाही, डण्डपाणी रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराल रहेका छन् ।

अदालतले सोही घटनामा संलग्न ३२ जनालाई भने रु १० हजारदेखि रु एक लाखसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ । यस घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा महामन्त्री एवम् सांसद धवल शमशेर राणा लगायत हाजिरी जमानीमा छुटेका ११ जना अहिले सम्पर्कमा छैनन्। अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र राणालाई अदालतले फरार प्रतिवादीको रूपमा राखेको छ ।

तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा अभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो। घटनामा २० जना प्रहरीको गोली लागेर घाइते भएका थिए। अदालतका अनुसार, गोली लागेका कोही पनि प्रदर्शनकारी थिएनन् ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस