काठमाडौं । नागढुंगा पिपलामोड नजिक यात्रुबाहक माइक्रोबस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। काठमाडौँबाट चितवन जाँदै गरेको बा ३ ख ८६२९ नम्बरको माइक्रो करिब साँझ ४:४५ बजे सडकबाट करिब २०० मिटर तल खसेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार घाइते हुनेमध्ये १० जना भारतीय नागरिक छन्। घाइतेको अहिले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ।
माइक्रोबसका चालक ४३ वर्षीय अनिल तामाङ नुवाकोटको ककनी गाउँपालिका–३ का हुन्। गाडीमा ६ बालबालिका, ५ महिला र १० पुरुष यात्रु सवार थिए।
१६ वर्षीय सक्षम अधिकारीको बायाँ खुट्टामा र ४१ वर्षीया सुजाता अधिकारीको टाउको तथा खुट्टामा चोट लागेको छ। अन्य नेपाली यात्रु अञ्जिला शाह, सुविदा मल्ल, ईश्वर थापा, गणेश पौडेल, सन्तबहादुर थापा, सुनिल श्रेष्ठ, प्रशान्त अधिकारी, प्रयास गुरुङ सामान्य घाइते छन्।
भारतीय नागरिकमध्ये पटनाकी २४ वर्षीया रिन्कु देवीको बायाँ हातमा चोट लागेको छ। अन्य भारतीय यात्रु रवीकुमार, सार्थककुमार, मानवीकुमार, डब्लुकुमार, राजकुमार, शिवकुमार, प्रञ्जलकुमार, निश्चलकुमार र रितुकुमारीको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

