२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

“केपी ओली फेरि अध्यक्ष नबन्नेमा विश्वास छ, म अध्यक्ष बन्न तयार छु” -विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको आगामी नेतृत्व परिवर्तन हुने स्पष्ट संकेत दिएकी छिन्। उनले वर्तमान अध्यक्ष केपी शर्मा ओली अब पुनः अध्यक्ष नबन्ने विश्वास व्यक्त गर्दै आफू भने नेतृत्व लिन तयार रहेको उद्घोष गरेकी हुन्।

इमेज टेलिभिजनको ‘हटसिट’ कार्यक्रममा पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्तामा भण्डारीले भनिन्, “केपी ओली दोहोर्‍याएर एउटै कक्षामा जाँच दिने व्यक्ति होइन। मलाई लाग्छ, अब उहाँ नेतृत्व हस्तान्तरण गर्नुहुन्छ।”

पूर्वराष्ट्रपतिले माधव नेपालहरू पार्टी छाडेपछि ओलीले अध्यक्षता दोहोर्‍याउनु परेको अवस्था आएको बताइन्। तर अब पार्टीभित्र नेतृत्व हस्तान्तरणको समय आएको उनको भनाइ छ।

“पार्टी अध्यक्ष बन्ने लक्ष्यप्रति स्पष्ट छु”

अन्तर्वार्तामा पत्रकार खरेलले “पार्टी अध्यक्ष हाँक्ने हो ?” भनी सोध्दा भण्डारीले हाँस्दै भनिन्, “यो त सार्वजनिक बहसको एजेन्डा भइसक्यो।” पुनः स्पष्टिकरण दिँदै उनले भनिन्, “पार्टीमा यति अनुभव लिएर आइसकेपछि जिम्मेवारी लिनु भनेको त्यही त हो, जुन तपाईंहरूले सोध्नुभएको छ।”

जब पत्रकारले “अध्यक्ष बन्ने हो ?” भनेर सोधे, भण्डारीले सिधै भनिन्, “एकदम, त्यसमा त कुनै सन्देह छैन।”

नेतृत्व परिवर्तनलाई स्वाभाविक मान्नुपर्ने धारणा
भण्डारीले लोकतान्त्रिक अभ्यासमा नेतृत्व परिवर्तनलाई स्वाभाविक रुपमा लिनुपर्ने बताइन्। “केपी ओली सहकर्मी, साथी र सहयोद्धा हुन्। तर प्रतिस्पर्धा लोकतान्त्रिक प्रक्रियाको अंग हो,” भन्दै उनले प्रतिस्पर्धा स्वाभाविक हुने धारणा राखिन्।

पुनः सक्रिय राजनीतिमा भण्डारीको ठूला संकेत

राष्ट्रपतिबाट कार्यकाल सकिएपछि भण्डारी पार्टी राजनीतिमा फिर्ता भएकी छन्। र, अब उनले पार्टीको शीर्ष नेतृत्व सम्हाल्ने तयारीमा रहेको यो अन्तर्वार्ता स्पष्ट सङ्केत मानिएको छ।

 

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस