काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ को नारासहित आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार आयोजित नगर सभाको १७औं अधिवेशनमा महानगरका प्रमुख बालेन्द्र शाहले महानगरलाई समावेशी, प्रविधिमैत्री र सुशासनयुक्त ‘स्मार्ट सहर’ का रूपमा रूपान्तरण गर्ने महत्त्वाकांक्षी योजनासहितको दस्तावेज प्रस्तुत गरेका हुन्।
प्रस्तुत नीति तथा कार्यक्रमले फोहोर व्यवस्थापनलाई दीर्घकालीन समाधान दिन ‘शून्य फोहोर सहर’ अभियानलाई प्राथमिकतामा राखेको छ। यसअन्तर्गत फोहोरलाई स्रोतमा नै वर्गीकरण गर्ने, फोहोरबाट ऊर्जा उत्पादन गर्ने तथा सामुदायिक पुनः प्रयोग केन्द्र स्थापना गर्ने जस्ता कार्यक्रमहरू कार्यान्वयनमा ल्याइनेछ।
त्यसैगरी, महानगरको मौलिक पहिचानलाई विश्व बजारसँग जोड्न ‘लाइभ हेरिटेज’ को नवीन अवधारणा अघि सारिएको छ। यसले मौलिक कला, संस्कृति र सम्पदाको संरक्षण गर्दै रात्रीकालीन पर्यटन प्रवर्द्धन गरी सांस्कृतिक पर्यटनलाई स्थानीय रोजगारी र अर्थतन्त्रसँग जोड्ने लक्ष्य राखेको छ।
प्रविधि र सुशासनलाई एकसाथ अघि बढाउँदै महानगरलाई डिजिटल युगको ‘स्मार्ट सिटी’ का रूपमा विकास गरिने योजनामा उल्लेख छ। यसका लागि आईटी हब, डिजिटल नोम्याड-मैत्री पूर्वाधार निर्माणका साथै ‘Live, Work & Explore Kathmandu’ जस्ता अभियान सञ्चालन गरिनेछ।
सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन ई-कोटेसन प्रणाली र सेवा प्रवाहको गुणस्तर मापन गर्ने ‘सर्भिस रेटिङ सिस्टम’ लागू गरिनेछ। सामाजिक क्षेत्रतर्फ, सामुदायिक विद्यालयहरूमा ‘स्पोर्टस् एकेडेमी’ र स्टिम शिक्षा सुरु गर्ने, सार्वजनिक पुस्तकालय स्थापना गर्ने तथा ‘स्वस्थ सहर’ को लक्ष्यसहित सबै नगरवासीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने योजना छ।
साथै, बालबालिकाको अधिकार सुनिश्चित गर्न ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ र ज्येष्ठ नागरिकका लागि ‘सिनियर सिटिजन फ्रेन्डली जोन’ जस्ता कार्यक्रमहरू पनि समावेश गरिएका छन्। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले गत आर्थिक वर्षमा सुरु भएका तर सम्पन्न हुन बाँकी रहेका योजनाहरूलाई समेत यसै आर्थिक वर्षमा निरन्तरता दिइने स्पष्ट पारे। उनले प्रस्तावित कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि सबै जनप्रतिनिधि, कर्मचारी, नगरवासी र सरोकारवालाहरूको सामूहिक प्रतिबद्धता र सक्रिय सहकार्यमा जोड दिए।

