२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

प्रचण्डको प्रश्न : जहाँ सरकार, त्यहाँ भ्रष्टाचार, प्रधानमन्त्रीले चित्रगुप्तलाई के बयान दिने ?

काठमाण्डौँ ।  प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको टिप्पणी गरेका छन् । आज (सोमबार) संसदमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘म उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली) ले भ्रष्टाचारबारे भनेको एउटा कुरा स्मरण गर्न चाहन्छु– उहाँले चित्रगुप्तालाई बयान दिन तयार छु, चित्रगुप्तालाई बयान दिने । यो अभिव्यक्ति पक्कै पनि प्रधानमन्त्रीजीले स्मरण गर्नु भएको होला । अहिले त जहाँ सरकार, त्यहाँ भ्रष्टाचार । अब चित्रगुप्तालाई प्रधानमन्त्रीजीले के बयान दिने होला ?,’ प्रचण्डले सोधे । ‘भूमिहीनको लागि सिन्को नभाँचेको सरकारले बिचौलियासँग लाखौं डिल गरिरहेको छ’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले भूमिहीनका लागि ‘सिन्को नभाँचेको’ टिप्पणी गरेका छन् । प्रचण्डले आफ्नो कार्यकालमा पाँच लाख भूमिहीन सुकुम्बासीलाई जग्गाधानी प्रमाणपत्र दिने गृहकार्य अघि बढाएको उल्लेख गर्दै यो सरकारले काम नगरेको बताएका हुन् । ‘मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुम्बासीलाई जग्गाधानी प्रमाणपत्र दिने गरी गृहकार्य अघि बढाएको थियो । तर दुई तिहाईको दम्भ बोकेको सरकारले भूमी आयोगका पदाधिकारी परिवर्तन गर्नुबाहेक सिन्को समेत भाँचेको मैले थाहा पाएको छैन,’ उनले भने ।

भूमिहीनलाई जग्गाको स्वामित्व दिलाउन काम गर्नुपर्ने सरकारले भूमि आयोगका पदाधिकारी चयन गर्न बिचौलियासँग लाखौँको डिल गरिरहेको प्रचण्डले उल्लेख गरे । उनले भने, ‘भूमिहीनलाई जग्गाको स्वामित्वको लागि सघन प्रयास गर्नुपर्नेमा सरकारका मन्त्रीहरु सरुवा तथा भूमिहीनका लागि स्थापना भएको आयोगका पदाधिकारी चयन गर्न समेत बिचौलियासँग लाखौँको डिल गरिरहेका समाचारहरु सर्वत्र आएका छन् ।’

प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस