काठमाडौं। प्रधानमन्त्री केपी ओलीले राजनीति र नीतिमा अस्थिरता देखिएको र त्यसको अन्त्य वर्तमान सरकारले गर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘संसदमा उठिरहेका विषयवस्तु राष्ट्रिय आवश्यकता छैनन्। सदनलाई सामाजिक सञ्जालका लागि कन्टेन उत्पादन गर्ने थलोका रुपमा स्थापित गर्ने दुष्प्रयास भइरहेको छ। देशमा राजनीतिक अस्थिरता सिर्जना गर्ने काम भइरहेको छ। यसको अन्त्य गर्न सरकारले भूमिका खेल्छ,’ उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति इंगित गर्दै उनले एउटा व्यक्तिमाथि मात्र प्रतिशोध भएको देख्नुले गलत भाष्यको निर्माण गर्न खोजिएको प्रस्ट भएको उनले बताए। ‘सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्दै जबरजस्त गलत भाष्य स्थापना गर्न खोजिएको छ। थुनामा अरु व्यक्ति पनि छन्। उनीहरूमाथि के भएको हो? अदालतले सबैलाई प्रतिशोध नै साँधेको हो? सरकारले भनेजसरी नै अदालत चलेको हो त? सत्तापक्षका मान्छे पनि थुनिएका सरकारले नै भनेर हो त?,’ उनले प्रश्न गरेका छन्।
भिडद्वारा न्यायको हत्या गरेर अभियोग मुक्त हुन खोज्नेहरूबाट न्याय क्षेत्र जोखिममा रहेको उनको टिप्पणी छ।‘एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरु व्यक्तिमाथि के भएको हो? त्यो चाहिँ कानुनी कारबाही नै हो? अर्बौं रकम अपचलन गरेर थुनामा रहेका सयौं व्यक्तिमाथि प्रतिशोध भएको हो? कुन कुन मान्छेमाथि प्रतिशोध भएको हो?,’ उनले भने।

