२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

रास्वपाका रविपछि उपसभामुख सिध्याउन लाग्यो गठबन्धन, महाभियोग लगाउन एमाले-कांग्रेसका सबै सांसद जुटे

indira rana

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाभियोगको तयारी गरिएको छ । यसका लागि प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सबै सांसदहरुलाई संसदीय दलको कार्यालय सिंहदरबार बोलाएका छन् । नेकपा एमालेले आज बिहान साढे १० बजे आफ्ना सबै सांसदहरुलाई संसदीय दलको कार्यालय बोलाएको थियो । लगत्तै नेपाली कांग्रेसले पनि आफ्ना सबै सांसदहरुलाई संसदीय दलको कार्यालय बोलाएको छ । उपसभामुखविरुद्ध महाभियोगको लागि छलफल र हस्ताक्षरका लागि सांसदहरुलाई बोलाइएको बताइएको छ ।

उपसभामुख इन्दिरा रानामगरले उपसभामुखको लेटरप्याडमा विभिन्न व्यक्तिहरुलाई अमेरिकाको भिसा दिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको विषयमा उनीविरुद्ध छानबिनको माग भइरहेको छ । यही विषयलाई मुख्य आधार बनाएर उपसभामुखविरुद्ध महाभियोगको तयारी गरिएको बताइएको छ ।

यद्यपि उपसभामुखविरुद्ध महाभियोग प्रस्ताव ल्याइए पनि यो प्रस्ताव पारित हुन कठिन छ । महाभियोग प्रस्ताव पारित हुनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ । तर, सत्ता साझेदार दलहरुले दुई तिहाइ बहुमत जुटाउन कठिन छ । सरकारलाई समर्थन दिएका तर सरकारमा सहभागी नभएका दलहरुले यो प्रस्तावलाई समर्थन गर्न कठिन छ ।

वास्तवमा संसदको सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेसको संवैधानिक परिषदमा एउटा स्थान पनि छैन । हालको संविधान अनुसार उपसभामुख संवैधानिक परिषदको सदस्य हुने भएकोले उपसभामुख आफ्नो दलबाट बनाएर संवैधानिक परिषदमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्ने कांग्रेसको दाउ छ । यसकै लागि उपसभामुखविरुद्ध महाभियोगको तयारी गरिएको बताइएको छ ।

 

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस