काठमाडौँ । सरकारका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई हटाउने उद्देश्यले आ–आफ्ना दलको आकस्मिक बैठक बोलाएको चर्चा चलेपछि विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचेततापूर्वक विरोध गर्ने तयारी गरेको छ । सरकारको नेतृत्व गरेको एमालेले बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले दिउँसो २ बजे पदाधिकारी तथा सांसदहरूको बैठक बोलाएको छ । एकै दिन दुई दलले आकस्मिक बैठक बोलाएकोमा रास्वपाले गम्भीर रूपमा लिएको छ ।
यद्यपि उपसभामुखको विषयमा निर्णय लिन हो वा होइन भन्ने विषयमा आधिकारिक पुष्टि हुने आधार नभेटिएकाले बैठक नबोलाइएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । यदि उपसभामुखलाई नै हटाउने कांग्रेस र एमालेको तयारी हो भने त्यसको सशक्त रूपमा प्रतिवाद हुने उनले बताए । ‘हामीले पनि मिडिया मार्फत जानकारी पाएका हौँ । पुष्टि हुने कुनै आधार भेटिएको छैन । यसबारे थप बुझ्दै छौँ । यदि उपसभामुखलाई हटाउन खोजिएको हो भने हामी त्यसको सशक्त प्रतिवाद गर्छौँ’, उनले भने ।
आफू अनुकूल व्यक्तिलाई नियुक्त गर्न संवैधानिक परिषद् बाधक भएको हुनाले फेरि उपसभामुख हटाउन चलखेल गरेको हुन सक्ने रास्वपाका अर्का सांसद शिशिर खनालले अनुमान गरे । उपसभामुख हटाउने अभियानमा गत वर्ष नै कांग्रेस र एमाले लागेको भए पनि असफल भएको भन्दै उनले फेरि यो मुद्दा अगाडि बढाउनुको उद्देश्यबारे आफूहरूले बुझ्ने प्रयास भइरहेको जानकारी दिए । कांग्रेस र एमालेले रानालाई हटाउन गत भदौमै सांसदहरूको हस्ताक्षर सङ्कलन गरिएको भए पनि सत्ता समर्थक दल जसपा नेपाल र जसपाले असहयोग गरेपछि स्थगित भएको थियो । अहिले फेरि सिंहदरबारमा हस्ताक्षर भइरहेको छ ।

