२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुटकेशभित्र आमाको शव : ४ वर्षीय छोराले सोधी रहन्छ–’आमा खोई ?’ कोहिसँग जवाफ छैन !

काठमाण्डौँ । आइतबार बिहान गौर नगरपालिका–९ को मुडवालगेट नजिक सडकमा फालिएको सुटकेस देख्दा स्थानीयलाई पहिले त सामान्य लाग्यो । तर सुटकेस खोल्दा त्यहाँ एउटा मन रुवाउने, एउटा आमा, २६ वर्षीया रुबीकुमारी साहको निर्जीव शरीर थियो ।

शनिबार बेलुकी करिब ६ बजे डेराबाट बजार गएकी रुबी फर्किन सकिनन् । राति १० बजे नै डोरीले बाँधिएको सुटकेसको सूचना प्रहरीलाई दिइएको थियो । प्रहरी रातभर त्यहीँ पहरा दिएर बस्यो । बिहान जब खोलियो, सबैको मन थामिन सकेन, शरीर खुम्च्याएर लुगा जसरी कोचिएको, नाकमा रगत, बाहिर भने चोटपटक केहि थिएन ।

रुबीले भारतमा विवाह गरेकी थिइन् । तर ४ वर्षका छोराको पढाइका लागि उनी माधवपट्टीमा डेरा गरेर बस्दै आएकी थिइन् । छोराको उज्यालो भविष्यको सपना बोकेकी आमा यसरी सधैँका लागि अस्ताउनेछिन् भन्ने कसैले कल्पना गरेका थिएनन्।

प्रहरीको आशंका अझ डर लाग्दो छ—रुबीलाई गौरबाट अपहरण गरी भारततिर लगियो, त्यहीँ हत्या भयो, अनि शवलाई सुटकेसमा कोचेर नेपाल ल्याइ फालियो। मोबाइल भेटिएको छैन, अन्तिम लोकेशन गौर बजारमै देखिएको थियो। यति योजनाबद्ध अपराध देख्दा प्रहरी आफैं भन्छ—“यो काम पेशेवर अपराधीको हो।”

गाउँमा सनसनी छ, परिवारमा रुवाबासी छ । छोराले अब आमा भनी कसलाई बोलाउने ? आमाले अन्तिम पटक शनिबार बेलुकी आफ्नी आमालाई फोन गरेर “बजारबाट केही ल्याइदिउँ ?” भनेकी थिइन् । तर आज त्यो स्वर सधैंका लागि मौन भइसकेको छ ।

अब अनुसन्धान भारततिर मोडिएको छ । सीमापार अपराधीसँगको सम्बन्ध के हो भन्ने प्रश्नले प्रहरीलाई व्यस्त तुल्याएको छ । शव भेटिएलगत्तै भारतमा रहेका उनका श्रीमान नेपाल आएका छन्, तर शोकमा डुबेका परिवारका लागि कानुनी प्रक्रिया भन्दा ठूलो पीडा एउटी आमाको यो अमानवीय अन्त्य हो ।

प्रकाशित मिति : २०८२ भाद्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस