२०८२ भाद्र २७ गते शुक्रवार | 2025 September 12th Friday

देउवा, ओली र प्रचण्डलाई राष्ट्रपतिको सन्देश : कार्कीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्दै छु

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस तिनै दलका नेताहरुलाई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन लागेको सन्देश दिएका छन् ।

स्रोतका अनुसार राष्ट्रपतिले सभामुख देवराज घिमिरे मार्फत कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो सन्देश पठाएका छन् । राष्ट्रपति पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगलाई पनि सन्देश पठाएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवास पुगेका उपमहासचिव वर्षमान पुनको समन्वयमा राष्ट्रपति पौडेलले प्रचण्डसँग टेलीफोनमा कुरा गरेका हुन् ।

स्रोतका अनुसार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि टेलिफोनमार्फत नै संवाद गरेका थिए । उनीहरु मार्फत कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि पौडेलले सन्देश प्रवाह गरको स्रोतका भनाई छ ।

जेन–जीसमूहले बुधबार ‘भर्चुअल’ मतदान गरेर पूर्व प्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा अघि सारेको थियो । त्यसलाई काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र ९बालेन० शाहले समर्थन गरेका थिए । तर बालेनले संसद् विघटन र संवैधानिक निकायका पदाधिकारीको नियुक्ति खारेजी हुनुपर्ने सर्त अघि सारेका थिए ।

विहिबारको छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका थिए । यसअघि राष्ट्रपति पौडेलका तर्फबाट प्रधानसेनापति सिग्देलले जेनजीका विभिन्न समूह, हर्क साम्पाङ, दुर्गा प्रसाईँ लगायतसँग वार्ता गरेका थिए। प्रधानसेनापति सिग्देलले बुधबार दिनभरजसो आन्दोलनरत विभिन्न पक्षका प्रतिनिधिसँग दुईपक्षीय र बहुपक्षीय छलफल गरेका थिए ।

त्यसअघि राष्ट्रपतिले संविधानविद् एवं वरिष्ठ अधिवक्ताहरू सूर्य ढुंगेल, पूर्णमान शाक्य, चन्द्रकान्त ज्ञवाली, भीमार्जन आचार्य र ललित बस्नेतलाई बोलाएर पनि परामर्श लिएका थिए। उनीहरुसँगको छलफलमा संविधानमा कमभन्दा कम क्षति पुग्ने गरी संकटको निकास दिने अधिकार राष्ट्रपतिमा निहित हुने निष्कर्ष निकालिएको थियो।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस