२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

लिचीबारी जग्गा प्रकरणमा पूर्वमन्त्रीहरु गुप्ता, अधिकारी र श्रेष्ठसहित सात जनामाथि मुद्दा

काठमाडौं – पोखराको लिचीबारी जग्गा प्रकरणमा सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार (असोज २२ गते) तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित सात जनामाथि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको हो।

गुप्ता र श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। त्यसैगरी, अन्य आरोपित रामचन्द्र अधिकारी, यामकुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनविरुद्ध क्रमशः ५३ लाख, २५ लाख, ७८ लाख र २५ लाख बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ।

२०७९ असार २८ मा तत्कालीन मन्त्री गुप्ताको ५३ लाख घुस लिएको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए। मालपोत कार्यालयका प्रमुखको सरुवा र अनुकूल व्यक्ति व्यवस्थापन गरिदिने आश्वासनसहित रकम लिएको अडियो सार्वजनिक भएको थियो।

सोही प्रकरणमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि मुछिएका थिए। अधिकारीले पोखराका सुजन लामाबाट ३२ लाख र आफ्ना भाइको खातामा ५ लाख लिएको विवरण सार्वजनिक भएको थियो। त्यस्तै, श्रेष्ठले ‘मलाई क्यास चाहियो, ड्राइभर पठाइदिन्छु’ भन्ने म्यासेजसहित रकम लिएको प्रमाण अख्तियारमा पेश भएको छ।

घटनाका क्रममा तत्कालीन सचिव अर्जुन पोखरेल र मालपोतका कर्मचारीहरु समेत संलग्न रहेको विवरण पनि सार्वजनिक भएको थियो।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस