
काठमाडौं – जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मानमा चौधरी ग्रुपले प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।
बुधबार (असोज २२ गते) जारी विज्ञप्तिमार्फत समूहले आन्दोलनका क्रममा आफ्ना निजी सम्पत्ति – निवास, कार्यालय, शोरूम र कारखानामा भएको ठूलो क्षति र विध्वंसले गहिरो पीडा दिएको उल्लेख गर्दै पनि पुनःनिर्माणको यात्रामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिनेछौं, पुनःनिर्माण गर्नेछौं र आशा, सहानुभूति तथा सम्मानसहित देशको उज्ज्वल भविष्य निर्माण गर्नेछौं,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको भनाइ उद्धृत छ।
समूहले आफ्नो टिममार्फत सम्पूर्ण सहिद परिवारसँग सम्पर्क गरिरहेको र सो प्रक्रियामा सहयोग गर्न इच्छुक व्यक्तिहरूले कम्पनीका कर्पोरेट कम्युनिकेशन विभाग प्रमुख मधुसूदन पौड्याललाई सम्पर्क गर्न सक्ने जनाएको छ।