२०८३ जेष्ठ १४ गते बिहिवार | 2026 May 28th Thursday

साइबर ब्युरोमा महेश बस्नेतको डेढ घण्टे बयान, हुनसक्ने सजाय सुनेर होस् उठ्छ

काठमाडौं – साइबर अपराधसम्बन्धी उजुरीमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले बुधबार (असोज २२ गते) प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा डेढ घण्टासम्म लिखित बयान दिएका छन्।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि उनलाई बयानका लागि बोलाइएको थियो। ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीका अनुसार, बस्नेतले सरकारी वकिल कार्यालयले पठाएको प्रश्नको लिखित जवाफ दिएका हुन्।

बस्नेतमाथि धादिङकी शोभा भनिने जानुका पाठकले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। उनले बस्नेतले सामाजिक सञ्जालमार्फत अमर्यादित शब्द प्रयोग गरेको र बस्नेत फ्यानक्लबबाट अश्लील सन्देश पठाइएको आरोप लगाएकी थिइन्।

पहिले तामेलीमा राखिएको उक्त उजुरीमा ५ असोजमा जिल्ला सरकारी वकिल कार्यालयले पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार बस्नेतले आज लिखित बयान दिएका हुन्।

यो प्रकरण विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत अनुसन्धान भइरहेको छ, जसमा गैरकानूनी वा अमर्यादित सामग्री प्रकाशन गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद, वा दुबै सजाय हुन सक्ने प्रावधान छ।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस