
काठमाडौं – दोहास्थित नेपाली दूतावासले कतारमा रहेका सम्पूर्ण नेपालीहरूलाई त्यहाँको कानून, नियम तथा सांस्कृतिक मूल्य–मान्यताको पूर्ण पालना गर्न आग्रह गरेको छ। दूतावासले बुधबार (असोज २२ गते) एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा मादक पदार्थ सेवन, झगडा, लागू पदार्थ ओसारपसार, अश्लील भिडियो कारोबार, चेक बाउन्स, सामाजिक सञ्जालमा मिथ्या आरोप, गाली गलौज र चरित्रहत्या गर्ने कार्य नगर्न चेतावनी दिएको छ।
तेस्रो मुलुक, विशेषगरी पूर्वी युरोप पठाउने भन्दै ठगी गर्ने, अध्यागमन र ट्राफिक नियम उल्लंघन गर्ने जस्ता गतिविधिमा संलग्न नहुन दूतावासले अनुरोध गरेको छ। साथै, कुनै पनि व्यक्तिले दिएको वस्तु वा पार्सल जाँच नगरी नबुझ्न, शिष्ट र अनुशासित व्यवहार गर्न र नगद कारोबार नगर्न पनि आग्रह गरिएको छ।
दूतावासले राहदानी, कतार आईडी, बैंक खाता नम्बर र सिम कार्ड कसैलाई नदिन, अर्को कम्पनीको आईडी लिएर काम नगर्न, भाङ्गको अचार वा मर्चाजस्ता वस्तु ल्याउन वा बेचबिखन नगर्न र सामाजिक सञ्जालमा अरूको चरित्रहत्या वा सामाजिक सद्भावमा आघात पुर्याउने पोस्ट नगर्न चेतावनी दिएको छ।
साथै, सार्वजनिक स्थलमा अशोभनीय पोशाक लगाएर नहिड्न, कार्यक्रम आयोजना गर्नुअघि कतारी निकायको स्वीकृति लिन र नेपाली समुदायबीच एकता, सद्भाव र सहयोग अभिवृद्धि गर्न दूतावासले सबै संघसंस्थालाई आह्वान गरेको छ।