२०८२ असोज २३ गते बिहिवार | 2025 October 9th Thursday

गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्न माग, आरोप के हो ?

काठमाडौं – नेकपा (एमाले) का नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याललाई राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गर्नुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत गृहमन्त्री अर्यालमाथि गम्भीर आरोप लगाउँदै भनेका छन् कि प्रहरीबाट लुटिएका हतियारहरू कहाँ र कसको हातमा छन् भन्ने सम्पूर्ण जानकारी गृहमन्त्रीसँग नै छ। बर्तौलाको दाबी अनुसार, जेन–जेड आन्दोलनमा सुनियोजित घुसपैठ गराई शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने योजनामा गृहमन्त्रीको प्रत्यक्ष संलग्नता रहेको छ।

बर्तौलाले लेखेका छन्, ‘हाम्रो इतिहास, सम्पदा र दस्तावेजहरू नष्ट गर्ने, व्यक्तिका घर र व्यावसायिक भवनमा आगजनी, तोडफोड र लुटपाट गराउने कार्यमा उनी प्रायोजित उत्प्रेरक हुन्। सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत र प्रहरी चौकीहरूमा आगो लगाउने निर्देशन दिने उनी नै हुन्,’।

उनले गृहमन्त्री अर्यालले सपथ ग्रहण गरेलगत्तै फौजदारी अपराधमा संलग्न व्यक्तिहरूलाई पर्याप्त प्रमाण हुँदाहुँदै पनि कानुनी कारबाही नगर्न लिखित निर्देशन दिएको आरोप लगाए।

बर्तौलाले भनेका छन्, ‘शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गराउने यही सम्बन्धका कारण उनले थोरै पनि मिहिनेत नगरी गृहमन्त्री पद सहजै हात पारे। त्यसपछि कानुनी कारबाही रोकेर देशमा अराजकता र दण्डहीनता बढाएका हुन्,’।

उनले तत्काल गृहमन्त्रीलाई पदबाट बर्खास्त गरी गिरफ्तार गरी अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस