२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

विपिनको डीएनए परीक्षणमा देखिएको नतिजाले सबै हैरान

काठमाडौँ । हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या भएको पुष्टि भएको छ।

इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा जोशीको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भएको देखिएको इजरायलस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।

‘हमासले हस्तान्तरण गरेको शव विपिनकै भएको डीएनए परीक्षणले पुष्टि गरेको छ। उनको प्राकृतिक मृत्यु नभई हत्या नै भएको निष्कर्ष रिपोर्टमा उल्लेख छ,’ दूतावास स्रोतले भन्यो।

जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (ICRC) मार्फत इजरायली सैनिक अस्पतालमा लगेर परीक्षण गरिएको थियो।

यसबारे दूतावासले औपचारिक जानकारी सार्वजनिक गरेको छैन भने परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि अहिलेसम्म आधिकारिक जानकारी नभएको बताएका छन्। स्रोतका अनुसार प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी सुशीला कार्कीलाई औपचारिक रिपोर्ट पुगेपछि डीएनए परीक्षण परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ।

कञ्चनपुरका जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनेका थिए। उक्त घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

इजरायल–हमास युद्धविरामपछि मंगलबार बिहान मात्र हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस