२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

गाजामा अस्ताएका विपिनको परिवारका लागि प्रदेश सरकारको ठूलो घोषणा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार स्व. जोशीका परिवारलाई मानवीय सहायतास्वरूप सहयोग उपलब्ध गराइनेछ। यसअघि पनि प्रदेश सरकारले हमास आक्रमणमा मारिएका सात नेपालीका परिवारलाई समान दरमा सहयोग रकम प्रदान गरिसकेको छ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक अध्ययन पूरा गरेका जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल इन्टर्नका रूपमा पुगेका थिए। मुख्यमन्त्री शाहले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

यसैबीच, विपिन जोशीको पार्थिव शरीर आज साँझ नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी विमानस्थलमा ल्याइएर कञ्चनपुर लगिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस