२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

मन्त्रिपरिषद् बैठकका १३ महत्वपूर्ण निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले स्विट्जरल्याण्डको जेनेभामा हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई स्वीकृति प्रदान गरेको छ।

सोमबार (कात्तिक १७) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिंहदरबारमा पत्रकार सम्मेलन गरी सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक गरेका हुन्।

प्रवक्ता खरेलका अनुसार मंसिर १ देखि ३ गतेसम्म जेनेभामा आयोजना हुने नेपालको व्यापार नीति समीक्षा बैठकमा सचिव घिमिरेले नेपालका तर्फबाट सहभागिता जनाउनेछन्।

त्यस्तै बैठकले थाइल्याण्डको बैंककमा हुने High Level Summit on Water Security and Resilience कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्रालयकी सचिव प्रमीला देवी शाक्यलाई स्वीकृति प्रदान गरेको छ।

साथै, सर्वोच्च अदालतको आदेशअनुसार पदममाया गुरुङलाई क्षतिपूर्तिबापत ६ लाख ३ हजार ६ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।
प्रवक्ता खरेलका अनुसार बैठकले नेपाली सेनाका १० जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय पनि गरेको छ।

यस्तै, सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गत निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने र अर्थ मन्त्रालय तथा अन्तर्गत निकायहरूको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

नेपाल सरकार मन्त्रिपरिषद्_का २०८२ कात्तिक १७ गतेका निर्णयहरू_page-0001

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस