२०८२ कार्तिक १९ गते मङ्गलवार | 2025 November 4th Tuesday

माओवादी केन्द्रसहित ९ दलबीचको एकता घोषणा भोलि भृकुटीमण्डपमा हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रसहित ९ वटा वामपन्थी दलबीचको पार्टी एकता घोषणा बुधवार बिहान ११ बजे काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ।

माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार एकताको लागि सहमति पत्रमा हस्ताक्षर गरिसकेका दलहरूबीच औपचारिक घोषणा कार्यक्रम भृकुटीमण्डपमा आयोजना हुनेछ। उनले नयाँ एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी (Nepali Communist Party) रहने जानकारी दिएका छन्।

सापकोटाले एकीकृत पार्टीले जनताको चाहनाअनुसार नीति र कार्यक्रम बनाउने र देशलाई समृद्धितर्फ लैजाने लक्ष्यसहित अघि बढ्ने बताएका छन्। उनले भने, “अहिलेसम्मका उतारचढाव, घुम्ती र मोड पार गर्दै अब देश समृद्धितर्फ जाने हाम्रो विश्वास छ।”

मंगलबार बसेको माओवादी केन्द्रको अन्तिम बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तत्कालका लागि माओवाद सिद्धान्त छाडे पनि माओका योगदान र विचारमाथि सजीव छलफल गरेर पुनर्स्थापना गर्ने सम्भावना रहेको बताएका छन्।

उनले थपे, “बृहत् छलफलपछि माओवाद पुनर्स्थापित हुनसक्छ, तर अहिले एकता नै प्राथमिकता भएकाले यही कदम चालिएको हो।”

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस