२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

भर्खरै पार्टी एकता गरेका प्रचण्डलाई जोडदार झट्का, जनार्दनले उठाए ठूलो कदम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाम, चुनाव चिन्ह, झन्डा र मार्गदर्शक सिद्धान्त ‘माओवाद’ यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ।

सहिद सन्तान सन्दीप पुनसहित जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान का नेताहरू शुक्रबार आयोग पुगेर निवेदन दर्ता गरेका हुन्।

अभियानका नेता रजमान तामाङ का अनुसार, माओवादी केन्द्रले आफ्नो महाधिवेशनको मिति घोषणा गरिसकेकाले प्रचण्डले अहिले दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्न नपाउने दाबी गरिएको छ।

निवेदनमा पार्टीको वर्तमान कार्यसमिति केवल ‘महाधिवेशन आयोजक समिति’ भएको र यसले कामचलाउ समितिको रूपमा मात्रै काम गर्न सक्ने उल्लेख छ। निवेदनमा भनिएको छ, “यो कामचलाउ समितिले पार्टी जीवनमा दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय गर्न सक्दैन, न त अर्को पार्टीमा विलय गर्न सक्छ, न त माओवादी सिद्धान्त परित्याग।”

तामाङले बताए अनुसार, पार्टीको नाम, झन्डा र चुनाव चिन्ह ऐतिहासिक जनयुद्ध र हजारौँ सहिद, घाइते तथा बेपत्ताहरूको योगदानसँग जोडिएको छ। यस पहिचानलाई परिवर्तन गर्न खोज्नु पार्टीको विधान र जनभावनाविरुद्ध हुने चेतावनी दिइएको छ।

निवेदनमा आयोगलाई बाहिरी दबाबबाट प्रभावित नहुन आग्रह गरिएको छ। साथै, यदि आयोगले माओवादी केन्द्रको पहिचान फ्रिज गरेर चुनावमा भाग लिन रोक्ने निर्णय गरेमा, त्यसले निर्वाचनको वैधानिकता नै प्रश्नमा पर्ने दाबी निवेदनमा गरिएको छ।

उक्त निवेदनको दर्ता नम्बर ६५३ रहेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस