२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

जेनजी प्रदर्शनपछि सर्वोच्च अदालतले गर्‍यो ऐतिहासिक घोषणा

काठमाडौँ । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालनमा आउने भएको छ। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी, ढुङ्गामुढा र तोडफोड भएपछि अदालतले आंशिक रूपमा मात्रै सेवा प्रदान गर्दै आएको थियो।

सर्वोच्च अदालतको पूर्ण बैठकले बिहीबार बसेर आगजनी र लुटपाटबाट बचेका मुद्दाहरू र अवरुद्ध सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

अदालतले जारी गरेको सूचनामा भनिएको छ, “मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेकाले, मिति आउन बाँकी रहेका ती मुद्दाहरूको सुनुवाइ मङ्सिर १ गतेदेखि नियमित रूपमा हुनेछ। अन्य पेसी नचढेका मुद्दाहरू कानुनबमोजिम अङ्ग पुर्‍याई सुनुवाइ गरिने पनि सूचनामा उल्लेख छ।

त्यस्तै, सर्वोच्चले सेवा अवरुद्ध हुँदा रोकिएका सुरु मुद्दा, पुनरावेदन पत्र, दोहोर्याई पाउँ भन्ने निवेदन र पुनरावलोकन निवेदनहरू समेत दर्ता र सुनुवाइ गर्ने निर्णय गरेको छ।

यस निर्णयसँगै लामो समयदेखि रोकिएका कानुनी प्रक्रिया पुनः गतिमा आउने र नागरिकले न्यायिक सेवा सहज रूपमा प्राप्त गर्न सक्ने वातावरण तयार हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस