काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ।
मुख्यमन्त्री सोनारले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने सम्भावना कमजोर देखेपछि विश्वास प्रस्ताव फिर्ता लिँदै राजीनामा दिने निर्णय गर्नुभएको हो।
राजीनामा दिएपछि सभामुख रामचन्द्र मण्डलले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न आवश्यक नभएको भन्दै बैठक स्थगित गर्नुभयो।
शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको थियो। तर बैठकमा नेकपा (एमाले) र नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतहरूले सोनारलाई समर्थन नगर्ने स्पष्ट बताएका थिए।
त्यसैगरी, नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य रहवर अन्सारीले आफू तटस्थ बस्ने घोषणा गर्नुभयो भने माओवादीकी सांसद माला कर्णले पनि अन्सारीको भनाइमा समर्थन जनाउनुभयो।
उता, जनमत पार्टीका प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह बैठकमा अनुपस्थित हुनुहुन्थ्यो।
मधेश प्रदेशसभामा हाल १०७ सदस्य रहेका छन्। बहुमत प्राप्त गर्नका लागि कम्तीमा ५४ मतको आवश्यकता पर्छ। हाल तीन जना प्रदेशसभा सदस्य निलम्बनमा रहेका छन्।

