काठमाडौं – नक्सालस्थित भाटभटेनी सुपरमार्केट भवन भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार दुई जना घाइतेमध्ये एक जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार, घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो, तर एक जनाको मृत्यु भएको पुष्टि भएको छ।
उक्त भवन जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडपछि मर्मत तथा सरसफाइका लागि भत्काउन सुरु गरिएको थियो। आगलागीले क्षतिग्रस्त भाग भत्किन थालेपछि भवनका भग्नावशेष हटाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका भाटभटेनी भवनमा पनि तोडफोड र आगजनी गरिएका थिए।
प्रकाशित मिति : २०८२ कार्तिक २४ गते आइतवार

