काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको प्रभावमा गरिएका निर्णय उल्टाउन सरकारलाई आग्रह गरेका छन्। उनले आज प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा भेट गरी मेडिकल कलेजको सिट सीमा हेरफेरलगायतका गलत निर्णय सच्याउन माग गरेका हुन्।
डा. केसीसँगै भेटमा चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरी, प्रा.डा. जगदीशप्रसाद अग्रवाल पनि उपस्थित थिए। डा. केसीले प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र बुझाउँदै चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, सुशासन र सामाजिक न्यायमा सुधारका लागि सरकारलाई ठोस कदम चाल्न आग्रह गरे।
प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्य मन्त्री डा. सुधा गौतम र चिकित्सा शिक्षा आयोगकी उपाध्यक्ष डा. अञ्जनी झा पनि छलफलमा सहभागी थिए।
डा. केसीले बुझाएको ज्ञापनपत्रमा चिकित्सा शिक्षा आयोगको स्वायत्तता पुनर्स्थापना, गलत सिट सीमा निर्धारण सच्याउने, गेटा मेडिकल विश्वविद्यालयमा योग्य पदाधिकारी नियुक्त गर्ने, विश्वविद्यालयहरूमा मापदण्डसहित पदाधिकारी नियुक्त गर्न अध्यादेश ल्याउने, निर्मला कुर्मी हत्या प्रकरण र नक्कली प्रमाणपत्र प्रकरणका दोषीमाथि कारबाही गर्ने लगायतका मागहरू समावेश छन्।
त्यसैगरी उनले सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिलाउने, संक्रमणकालीन न्यायको प्रक्रिया निष्पक्षरूपमा टुंग्याउने, सत्य निरूपण तथा बेपत्ता खोजी आयोगमा योग्य व्यक्तिहरू नियुक्त गर्ने, सरकारी अस्पतालमा जनशक्ति वृद्धि गर्ने र युवा आन्दोलनमा गोली हान्ने आदेश दिने पदाधिकारीमाथि कारबाहीको माग समेत गरेका छन्।
डा. केसीले भनेका छन्, “हामी दुई दशकभन्दा बढी समयदेखि स्वास्थ्य, शिक्षा र सुशासनका लागि लड्दै आएका छौं। अहिले नागरिक सरकारसमक्ष ठोस सुधारका निर्णय गर्न अवसर आएको छ, त्यसलाई गम्भीरतापूर्वक प्रयोग गर्नुपर्छ।”

