२०८२ माघ २५ गते शनिवार | 2026 February 7th Saturday

भोलि कुलमानको नयाँ दल दर्ता हुँदै, बालेनदेखि सुमना को-को छन् ?

काठमाडौं । अन्तरिम सरकारका ऊर्जा मन्त्री कुलमान घिसिङले नयाँ राजनीतिक दल गठनको तयारी अन्तिम चरणमा पुगेका छन् । जेनजीहरूलाई समेत समेटेर पार्टी दर्ता गर्ने उनको योजना अन्तिम टप्पामा पुगेको हो ।

स्रोतका अनुसार नयाँ दलको नाम नेपाल जनसेवा पार्टी राख्नेबारे सहमति भइसकेको छ भने चुनाव चिन्ह बिजुलीको बल्ब (चिम) हुने भएको छ ।

बन्ने जनसेवा पार्टीमा कुलमान घिसिङ, सुदन गुरुङ समूह, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को सचिवालय, र संयुक्त पहिचानवादी मोर्चा जोडिने तयारीमा छन् । उक्त मोर्चामा आठवटा पहिचानवादी समूह रहेका छन् ।

पूर्वरास्वपा नेता सुमना श्रेष्ठ पनि पार्टीमा सहभागी हुनेबारे छलफल भइरहेको छ । उनको टुंगो आज आइतबार साँझ बस्ने निर्णायक बैठकबाट लाग्नेछ । ‘सुमनाजी आउने सम्भावना धेरै छ, तर केही कुरामा मतभिन्नता छन्,’ स्रोतले बतायो ।

यसअघि कुलमानले उज्यालो नेपाल पार्टी नाम राख्ने प्रयास गरेका थिए । तर, जेनजी, बालेन र सुमना श्रेष्ठले अस्वीकार गरेपछि सहमति ढिलो भएको हो ।

स्रोतका अनुसार नेपाल जनसेवा पार्टी सोमबार निर्वाचन आयोगमा दर्ता गर्न जाने तयारी भइरहेको छ । ‘अब सोमबार जे भए पनि दर्ता गर्छौं,’ निर्माणमा संलग्न एक नेताले बताए ।

नेतृत्वबारे विवाद भएमा तत्कालका लागि संयोजक तोकेर अघि बढ्ने तयारी समेत गरिएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस