काठमाडौँ । चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) सहितका नेताहरू नेकपा एमालेमा फर्किएका छन्। झाँक्री र श्रेष्ठ २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा गएका थिए।
गत कात्तिक १९ गते, एकीकृत समाजवादी, माओवादी लगायतका पार्टीबीच एकीकृत भएको थियो।
सोमबार एमालेले काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान अन्तर्गत झाँक्री र श्रेष्ठ पुरानै घर एमालेमा फर्किएका हुन्।
उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह ‘सूर्य’ प्रदान गरेका थिए भने उनीहरूले अध्यक्ष ओलीलाई ‘कलम’ चिन्ह प्रदान गरेका थिए।
त्यसै कार्यक्रममा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ, केशव सापकोटा लगायतलाई पनि अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए।

