२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

कुलमानसँग कुरा नमिलेपछि बालेनको बि`स्फोटक निर्णय : राजनीतिमा ठूलो हलचल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफ्नै सचिवालय सदस्यहरूमार्फत नयाँ राजनीतिक दल दर्ता गर्ने तयारीमा छन्। ऊर्जा मन्त्री कुलमान घिसिङसँग पार्टी गठनबारे सहमति नजुटेपछि बालेन समूहले नयाँ दल ‘देश विकास पार्टी’ दर्ता गर्ने प्रक्रिया अघि बढाएको बुझिएको छ।

मेयर बालेननिकट एक सदस्यका अनुसार, प्रारम्भमा घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा सहभागिताका लागि छलफल चलेको थियो। उनले भने, “हामीबाट नागरिकताको कागजात मागियो, तर कसैले पनि पठाएन। घिसिङले अन्तिममा एकल निर्णय गरेपछि हाम्रो टोली फर्कियो।”

अब बालेन सचिवालयकै सदस्य सुदीप ढकालको संयोजकत्वमा नयाँ दल दर्ता हुने तयारी भइरहेको स्रोतको दाबी छ। उक्त दलको प्रस्तावित चुनाव चिह्न ‘लौरो’ रहेको बताइएको छ, जुन अहिले ‘हामी नेपाली पार्टी’सँग दर्ता छ।

स्रोतका अनुसार, “सिनारियो प्रत्येक घण्टा परिवर्तन भइरहेको छ, साँझसम्म केही ठोस निर्णय आउन सक्छ,” भन्दै तयारी तीव्र रूपमा अघि बढिरहेको छ। ढकालले भने औपचारिक निर्णय नभएको बताए।

उनका अनुसार, नयाँ दलले जेनजी (GenZ) पुस्तालाई केन्द्रमा राख्नेछ र पारदर्शिता, जवाफदेहिता र वैकल्पिक राजनीति प्रमुख एजेन्डा हुनेछन्। “यदि वैकल्पिक दलले जेनजीका माग सम्बोधन गरेन भने हामी आफैं अगाडि सर्नुपर्ने अवस्था आएको छ,” ढकालले भने।

यसबीच, बालेनले भने प्रत्यक्ष रूपमा संसदीय चुनावमा भाग नलिए पनि यो दललाई खुला समर्थन गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार, बालेनले “जेनजी आन्दोलनको मर्म बोकेको दल” निर्माणमा साथ दिने मनस्थिति बनाइसकेका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस