२०८२ कार्तिक २७ गते बुधवार | 2025 November 12th Wednesday

प्रचण्डलाई ठूलो झट्का : १० शीर्ष नेताहरुले साथ छोडेर नयाँ बाटो रोजे (नामसहित)

काठमाडौँ । तत्कालीन नेकपा (माओवादी केन्द्र) को प्रवास संगठनमा सक्रिय १० जना नेताहरूले नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग सबै संगठनात्मक सम्बन्ध तोडेको घोषणा गरेका छन्। पार्टी नेतृत्वलाई व्यक्तिवादी, सत्ताकेन्द्रित र विचारबाट विचलित भएको आरोप लगाउँदै उनीहरूले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्यागको घोषणा गरेका हुन्।

भारत प्रवास इन्चार्ज लक्ष्मण पन्त र एसिया प्रवास संगठन इन्चार्ज ओम शर्मा सहितका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताको केन्द्रमा रहिराख्न मात्र एकताको प्रयोग गरेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, पार्टीभित्र लोकतन्त्र, पारदर्शिता र नातावाद अन्त्यका विषय उठाउँदा पनि त्यसलाई बेवास्ता गर्दै व्यक्तिकेन्द्रित शैलीमा पुनर्गठनको नाममा नयाँ पार्टी बनाइएको हो।

विज्ञप्तिमा भनिएको छ, “हालको एकता राजनीतिक रूपमा अप्रासंगिक भइसकेका केही पात्रहरूलाई जोडजाम गरेर फेरि आफूलाई सत्ताको कुर्सीमा पुर्‍याउने उद्देश्यले गरिएको हो। एकताको नाममा वृद्धाश्रम खोलिएको छ र भ्रष्टाचारका अभियुक्तहरूलाई सारथि बनाइएको छ।”

नेताहरूले नेतृत्वमाथि आर्थिक अपारदर्शिता, परिवारवाद र कम्युनिस्ट आचरणविपरीतको जीवनशैली अपनाएको गम्भीर आरोप लगाएका छन्। उनीहरूले पार्टी स्थापनादेखि अहिलेसम्म आयव्यय विवरण नदिइएको र नेतृत्वको भड्किलो जीवनशैलीले कम्युनिस्ट नैतिकता कमजोर भएको बताएका छन्।

विज्ञप्तिअनुसार, पार्टी विधानमा २९९ सदस्यीय केन्द्रीय समिति व्यवस्था भए पनि अहिले ७०० भन्दा बढीलाई मनपरी रूपमा नियुक्त गरिएको र ३००० सदस्यीय समिति बनाउने तयारीले संगठनात्मक अराजकता बढाएको आरोप लगाइएको छ।

पार्टी परित्याग गर्नेहरूले अब ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’ सँग आबद्ध भएर नयाँ जनमुखी वामपन्थी आन्दोलन अघि बढाउने घोषणा गरेका छन्। उनीहरूले पुराना नेताहरूको सत्ता मोह त्यागी नयाँ दृष्टि र कार्यक्रमसहितको वामपन्थी आन्दोलनमा सहभागी हुन सबै कार्यकर्तालाई आह्वान गरेका छन्।

सम्बन्धविच्छेद गर्नेहरूमा अन्तरमहादेशीय कोषाध्यक्ष सागर पोखरेल, बेल्जियमस्थित जनप्रगतिशील मञ्चका प्रवक्ता दिल निशानी मगर, रामहरि पुडासैनी, धर्मराज खतिवडा, ईश्वर पौडेल, बाबुराम सापकोटाइन्जिनियर प्रतीक पोखरेल पनि छन्। उनीहरू भारत, एसिया, युरोप र अष्ट्रेलियालगायत क्षेत्रमा प्रवास संगठनका जिम्मेवारीमा थिए।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस