२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

अवकाश पाएकै दिन पूर्वआइजीपीलाई आयोगले दिएको झट्का (पत्रसहित)

काठमाडौँ। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुबेर खापुङमाथि सेवाबाट अवकाश पाएकै दिन ‘भाद्र २३ र २४ का घटना सम्बन्धी जाँचबुझ आयोग’ले कडा निर्णय लिएको छ।

गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगको बिहीबार बसेको बैठकले खापुङलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङले भाद्र २३ र २४ गते भएका घटनाको सम्बन्धमा कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले आजदेखि लागू हुने गरी उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरिएको छ।’

May be an image of text

विज्ञप्तिमा आयोगले खापुङलाई यस निर्णयबारे जानकारी गराउने उल्लेख छ। आयोगका अनुसार, खापुङमाथि भाद्र २३ र २४ गते भएका घटनासँग सम्बन्धित छानबिनका लागि निगरानी राखिएको छ।

पूर्वआइजीपी खापुङमाथि महानिरीक्षकको कार्यकालमा घटनामा संलग्न प्रहरी अधिकारीहरूको विवरण दिन अस्वीकार गरेको आरोप आयोगले लगाउँदै आएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस