२०८२ मङ्सिर ३ गते मङ्गलवार | 2025 November 18th Tuesday

सरकारको ठूलो घोषणा : झण्डै २५ सय जेनजी घाइतेलाई थप १५ हजार दिने

काठमाडौं । सरकारले भदौ २३ र २४ का जेनजी आन्दोलनका घाइतेहरूलाई थप जनही १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। फलोअप उपचारका क्रममा आर्थिक समस्या भएको गुनासो आएपछि क्याबिनेटले यो सहुलियत दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार उक्त आन्दोलनमा घाइते २ हजार ४२९ जनालाई यो रकम उपलब्ध हुनेछ। यसअघि सरकारले जनही २० हजार रुपैयाँ राहत दिएका थियो।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नर्वेबाट करिब ५ मिलियन डलर र स्वीस सरकारले प्रदान गर्ने २.१ मिलियन डलर अनुदान स्वीकार गर्ने, नेप्से पुनर्संरचना अध्ययनका लागि समिति (संयोजक प्रकाशजंग केसी) गठन गर्ने, तथा नेपाल विशेष सेवा ऐन संशोधन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।

साथै, माथिल्लो मुस्ताङमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिदिन ५० डलर कायम गर्ने तथा अध्यागमन नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरिएको छ। बैठकले डा. कल्पना कुमारी श्रेष्ठलाई शहीद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस