काठमाडौँ । जेनजी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालमाथि भारतीय कम्पनी पीटीसी इन्डियासँग विद्युत् खरिद गर्दा ४३ करोड रुपैयाँ भ्रष्टाचार गरेको उजुरी अख्तियारमा दर्ता गराएको छ।
जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहका अनुसार, घिसिङ–सिलवालले प्राधिकरणमा नियुक्तिपूर्व नै सेटिङ गरी विद्युत् खरिद सम्झौता गर्दा अनावश्यक मूल्य वृद्धि र अतिरिक्त आर्थिक भार सिर्जना गरेको देखिएको छ। उजुरीमा आयोगका केही आयुक्तहरूसँग सम्बन्ध रहेकोले स्वतन्त्र छानबिन हुन नसकेको पनि उल्लेख गरिएको छ।
उक्त खरिद प्रक्रियामा भारतीय कम्पनी पीटीसीसँग प्रतियुनिट विद्युत् बढी मूल्यमा किनिएको र राज्यलाई करिब ४३ करोड रुपैयाँको क्षति पुर्याइएको आरोप गरिएको छ। जेनजी मुभमेन्टले अख्तियारलाई तत्काल छानबिन गरी दोषीहरूलाई पहिचान गरी कारबाही गर्न आग्रह गरेको छ।

