काठमाडौं । काठमाडौं महानगरपालिका–२७ कान्तिपथमा कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ र दुई जना घाइते भएका छन्। बीएबी ५७२४ नम्बरको कारले बा. ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुङ्गा लिखु गाउँपालिका–९ का ३४ वर्षीय सन्तोष खड्काको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई केएमसी अस्पतालमा भर्ना गरिएको थियो, तर बिहानै उनको मृत्यु भएको हो। स्कुटरमा सवार अन्य दुईमध्ये एक जनाको उपचार केएमसी अस्पतालमा र अर्कोको टिचिङ अस्पतालमा भइरहेको छ।
दुर्घटनामा संलग्न कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : २०८२ मङ्सिर १२ गते बिहिवार

