काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले (आरबीआई) अब १ सयभन्दा माथिका भारु नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको छ।
आरबीआईले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै १ सय भारुसम्मका नोटमा कुनै सीमा नबाँध्ने र १ सयभन्दा माथिका नोटमा २५ हजार भारुसम्म ल्याउन/लान पाउने व्यवस्था गरेको छ।
ठूला नोट यात्रा गर्ने व्यक्तिले मात्र बोकेर ल्याउन सक्ने, पठाउन भने नपाइने व्यवस्था पनि राखिएको छ। २०१६ को भारतको नोटबन्दीपछि ठूला नोट नेपालमा ल्याउन/लान बन्देज थियो। अब आरबीआईको संशोधन अनुसार नेपाली र भुटानी नागरिकका लागि यो खुला गरिएको हो।
नेपाल राष्ट्र बैंकले आवश्यक नीतिगत व्यवस्था गरेपछि ठूला नोट नेपालमा चलनचल्तीमा ल्याउन सकिने छ। आरबीआईले नेपाली नोट भारतमा बोकेर लैजान पाइने व्यवस्था पनि गरेको छ। तर नेपाली नागरिकले विदेश जाँदा ५ हजार रुपैयाँभन्दा बढी लिएर जान नपाउने व्यवस्था नेपालमा लागू छ।
ठूला नोट प्रतिबन्ध खुल्दा व्यवसायी, पर्यटक र व्यवसायिक कारोबारमा सहजता आउने अपेक्षा गरिएको छ।

