२०८२ माघ २३ गते बिहिवार | 2026 February 5th Thursday

भारतको आकस्मिक ठूलो निर्णय : करोडौं नेपाली प्रत्यक्ष प्रभावित हुने!

काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले (आरबीआई) अब १ सयभन्दा माथिका भारु नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको छ।

आरबीआईले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै १ सय भारुसम्मका नोटमा कुनै सीमा नबाँध्ने र १ सयभन्दा माथिका नोटमा २५ हजार भारुसम्म ल्याउन/लान पाउने व्यवस्था गरेको छ।

ठूला नोट यात्रा गर्ने व्यक्तिले मात्र बोकेर ल्याउन सक्ने, पठाउन भने नपाइने व्यवस्था पनि राखिएको छ। २०१६ को भारतको नोटबन्दीपछि ठूला नोट नेपालमा ल्याउन/लान बन्देज थियो। अब आरबीआईको संशोधन अनुसार नेपाली र भुटानी नागरिकका लागि यो खुला गरिएको हो।

नेपाल राष्ट्र बैंकले आवश्यक नीतिगत व्यवस्था गरेपछि ठूला नोट नेपालमा चलनचल्तीमा ल्याउन सकिने छ। आरबीआईले नेपाली नोट भारतमा बोकेर लैजान पाइने व्यवस्था पनि गरेको छ। तर नेपाली नागरिकले विदेश जाँदा ५ हजार रुपैयाँभन्दा बढी लिएर जान नपाउने व्यवस्था नेपालमा लागू छ।

भारतले गरेको नयाँ नीतिगत परिवर्तनले अब १ सयभन्दा माथिका भारु समेत नेपाल–भारतबीच बोकेर लैजान-ल्याउन अनुमति दिएपछि यसको प्रत्यक्ष प्रभाव करोडौँ नेपालीलाई पर्नेछ।

दैनिक रूपमा भारत–नेपाल सीमा पार गर्ने विद्यार्थी, उपचार वा यात्राका लागि जाने यात्री, सीमावर्ती क्षेत्रका बासिन्दा, भारतीय बजारमा कारोबार गर्ने व्यापारी तथा रोजगारीका लागि आवतजावत गर्ने कामदार सबैलाई यसले समान रूपमा प्रभावित बनाउनेछ।

लामो समयदेखि ठूला दरका भारु नचल्दा भोग्नुपरेको समस्याबाट केही राहत मिल्ने अपेक्षा गरिएको छ भने व्यापार, सटही र घुमफिरसँग जोडिएको आर्थिक गतिविधिमा पनि यसको प्रभाव निकै ठूला मात्रामा देखिने अनुमान गरिएको छ।

ठूला नोट प्रतिबन्ध खुल्दा व्यवसायी, पर्यटक र व्यवसायिक कारोबारमा सहजता आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस